यसकारण सर्यो १२ सत्ताइस

काठमाडौं । आगामी मंसीर २७ लाई रिलिज मिति तोकिएको फिल्म ‘१२ सत्ताईस’ सरेर माघ ३ गते पुगेको छ । फिल्म निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मसले विज्ञप्ति जारी गर्दै फिल्म सरेको जानकारी दिएको हो ।

विज्ञप्तिमा ‘१२ सत्ताइस’ को प्रचारप्रसारको लागि समय कम भएको र फिल्मलाई अन्तिम रूप दिन केही प्राविधिक कामसमेत बाँकी रहेकोले प्रदर्शन मितिमा हेरफेर गर्नुपरेको उल्लेख छ । लाइट कमेडी जनरामा निर्माण भएको यो फिल्मको केहिदिन अघि सार्वजनिक ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउन खोजिएको छ । जोन योञ्जन निर्देशित फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म रेणु राना, दिपक खतिवडा, र रुपक थापाले मिलेर निर्माण गरेका हुन् । फिल्ममा गौतम शाह सहनिर्माता छन् । फिल्ममा अनिश स्याङदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन र निर्देशक जोनकै कथा छ ।