समिक्षाले पर्खिलिन् प्रेम ?

काठमाडौं । दाङको तुलसीपुरमा फिल्म ‘पर्खि बसे फर्की आउछु’को शुभ मुहुर्त गरिएको छ । राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन पनि आइतबारबाटै दाङमा सुरु भएको छ । पूर्व उर्जा,जलस्रोत तथा सिचाई मन्त्री दिपक गिरिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फिल्मका मुख्य कलाकार प्रेम परियार, समिक्षा बस्नेत र देव सागरले मुहुर्त सर्ट दिए ।

रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेमराज विक कार्यकारी निर्माता छन् । यमकान्त भण्डारी निर्माता र एकराज थापा सह–निर्माता रहेको फिल्म प्रेमकथा जनरामा निर्माण हुन लागेको हो । फिल्ममा पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, दीपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज बिसीलगायतका कलाकारको अभिनय रहनेछ ।

एउटी अपांग केटीको वयस्कमा हुने रहर र जीवन संघर्षको कथा फिल्मले बोल्ने लेखक तथा निर्देशक सानेले बताए । फिल्ममा कविराज गहतराज,रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी, बसन्त सापकोटा, एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत, अरुण सुनारको छायांकन, सानुकुमार महर्जनको द्वन्द्व रहनेछ ।

गायक तथा नवनायक प्रेम परियारले सानै देखि फिल्ममा देखिने रुचि रहेको र फिल्म ‘पर्खि बसे फर्की आउनेछु’को कथा मन परेकोले आफुले काम गरेको बताए । त्यसैगरी समिक्षाले आफुलाई फिल्ममा पहिले देखि नै रुचि भएको र एउटा अपांग व्यक्तिले भोग्नु परेको दुख पीडालाई देख्दा र सुन्दा उनीहरूको पीडालाइ अभिनयमार्फत महसुश गर्न पाउने भएकाले काम गर्न लागेको बताइन् । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।