नेता खोज्दै रवी लामिछाने

काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेको सञ्चालनमा ‘द लिडर’ नामक रियालिटी शोको घोषणा गरिएको छ । राजधानीमा बिहीबार आयोजित एक औपचारिक कार्यक्रमका बिच उक्त शोको घोषणा गरिएको हो । छिट्टै अडिसनमा जाने तयारीमा रहेको यो कार्यक्रमको निर्णायकमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्व पत्रकार तथा नेता रविन्द्र मिश्र, पुर्व प्रधानन्याधिश सुशिला कार्की र अन्य दुई चर्चित नेता रहनेछन् ।

झण्डैं एक बर्षको तयारीपछि कार्यक्रमको घोषणा गरिएको हो । यो कार्यक्रमको अडिसन छिट्टै नेपाल र नेपालबाहिर हुनेछ । ‘द लिडर’का विजेताले काठमाडौंमा अपार्टमेन्ट, कार र २० लाख नगद प्राप्त गर्नेछन् । मुलुक इतिहासकै अप्ठ्यारो अवस्थामा फसेको र यसको मुख्य कारण राष्ट्रले उपयुक्त नेतृत्व जन्माउन नसकेको अवस्थामा यो कार्यक्रमको परिकल्पना गरिएको हो ।

चाँडै नेपालका सातै प्रदेशका धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौं, जनकपुर र विराटनगरमा अडिसन हुनेछन् भने नेपालबाहिर अमेरिका, साउदी अरब, दुबई, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियामा अडिसन हुनेछ ।

१० एपिसोड सञ्चालनमार्फत १ सय जना प्रतिस्पर्धी छानेपछि ११ देखि १३ औं एपिसोडबाट ६५ जनालाई हटाएर ३५ जना छानिनेछन् । ती ३५ लाई पाँच–पाँचजनाको समूहमा विभाजन गरेर ७ समूह बनाइने र २७ औं एपिसोडबाट एउटा समूहमात्र फाइनलमा पुग्नेछन् । प्रतिस्पर्धीले नेता हुनका लागि जे–जे गर्नुपर्छ ति काम गरेर मात्रै फाइनलमा पुग्न सक्नेछन् । आयोजक एसआरविएन मिडियाले एरो प्रोडक्सनको सहकार्यमा कार्यक्रम ल्याउन लागेको हो । कार्यक्रम न्युज २४ टेलिभिजन साथै रमाईलो टि.भी एचडी र गुन्द्रुकएपमा प्रसारण हुनेछ ।