मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानलाई आम दर्शकले ‘चुलबुल पाण्डे’का रुपमा चिन्छन् । फिल्म ‘दबंग’मा यो चरित्र निभाएका उनले दर्शकको दिमागबाट आफ्नो चरित्रलाई हटाउन सकेका छैनन् । सलमानले आफ्नो अनस्क्रिन अवतार चुलबुल पाण्डेको अस्तित्वलाई वास्तविक जीवनमा महशुस गर्ने गरेको बताएका छन् ।
सन् २०१० मा फिल्म ‘दबंग’ रिलिज भएपछि सलमान चुलबुल पाण्डेको रुपमा दर्शक र प्रशंसकमाझ प्रख्यात भए । सलमानको यो प्रेन्चाइजीको तेस्रो संस्करण ‘दबंग ३’ यसै महिना रिलिज हुदैछ । ‘विगत नौ वर्षदेखि म चुलबुल पाण्डेको अस्तित्व वास्तविक जीवनमा महशुस गर्दैछु’,सलमान भन्छन्, ‘दर्शकबाट यो भूमिकाका लागि जति माया पाएको छु, त्यसप्रति आभारी छु । मेरा लागि चुलबुल पाण्डे एउटा चरित्र होइन, खास व्यक्तित्व हो । जसलाई म निकै मनपराउछु ।’
वास्तविक जीवनमा चुलबुल पाण्डेको अनुभव कसरी हुनसक्छ भन्ने पनि उनले भनेका छन् । ‘एकपटक जब म प्रहरीको बर्दी र जुँगा लगाउँछु, त्यो बेला म सलमान नभई चुलबुल पाण्डे हुँ जस्तो लाग्छ ’, उनले भनेका छन् । प्रभु देवाद्वारा निर्देशित र सलमान खान फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सलमान, अरबाज खान र निखिल निर्माता छन् । फिल्ममा सोनाक्षी सिन्हा, अरबाज, अमोल गुप्ते, माही गिल र टीनू आनन्दको पनि अभिनय छ । फिल्म डिसेम्बर २० मा रिलिज हुँदैछ ।