काठमाडौं । अभिनेता विपिन कार्कीलाई किङ अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ’को लोक शैलीको गीत ‘जाली रुमाल’ सार्वजनिक भएको छ । गीतमा विपिनसँगै केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् । कथाअनुसार नै गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । गीतमा बि पाण्डेको शब्द, सुभाष भुषालको संगीत तथा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर सुन्न सकिन्छ । गीतलाई भीमफेदीगाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् ।
सोलुको सल्लेरीमा छायांकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हाँस्यकलाकारको रुपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भए पनि देखिन तयार भएकी हुन् ।
फिल्मले ‘सेल्फी किङ’नामले परिचित एक हाँस्य कलाकार(टेलिभिजन)ले कलायात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा देखाउनेछ । ड्रामेडी जनराको फिल्ममा विशाल सापकोटाको ‘डेब्यू’ निर्देशन छ । फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बासतोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ ।
गतवर्षको सफल फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसलाई निर्माण गरेका हुन् । फिल्मका सह–निर्माता राजेश बिसुराल र प्रवल कोइराला छन् ।