काठमाडौं । दिवंगत चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा कलाकार केशव भट्टराईसहित कलाकारद्वय दीपक क्षेत्री र आनन्द थापाको स्मरण गरिएको छ । चलचित्रत्र विकास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको श्रद्धाञ्जली सभामा दिवंगत तीनजना कलाकारहरुको योगदानको स्मरण गरियो ।
बोर्ड अध्यक्ष भट्टराईको १३ औ पुन्यतिथीका अवसरमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले बोर्ड अध्यक्षका रुपमा भट्टराई गरेका कामको स्मरण गरे । साँखीले भट्टराईकै पहलमा चलचित्र स्टुडियो निर्माणका लागि बनेपामा २९ रोपनी जग्गा छनौट भएको र त्यसै ठाउँमा स्टुडियो बनाउन सुरु गर्ने काम अन्तिम चरणमा पुगिसकेकोले स्टुडियो निर्माणमा भट्टराईले पु¥याएको योगदान चलचित्र जगतका लागि स्मरणीय हुने बताए । भट्टराईकै पहलमा मोफसलका सिनेमा हलहरुमा बक्स अफिस लागु गर्ने अभियान शुरु भएको पनि साँखीले बताए ।
विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भूजीत बासकोटा, कृष्ण मल्ल र राजकुमार राईले भट्टराईका बारेमा आफ्ना कुरा राखेका थिए । निदेर्शक तुलसी घिमिरेले आफुले निर्देशन गरेको चलचित्र ‘कोशेली’बाट दिवंगत भट्टराईले चलचित्र जगतमा प्रवेश गरेको स्मरण गर्दै एक उत्कृष्ठ कलाकारको रुपमा उनको सम्झना गरे ।
बोर्डका सदस्य दयाराम दाहलले भट्टराईले चलचित्र क्षेत्रको विकासका लागि विभिन्न महत्वकांक्षी योजनाहरु बनाएको स्मरण गर्दै उनले परिकल्पना र सुरुवात गरेका योजना र कार्यक्रम सफल बनाउने बताए ।