हे निष्ठुरीमा बफिन्स ९८

काठमाडौं । सांगीतिक समूह ‘बफिन्स ९८’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘हे निष्ठुरी’ बोलको गीत सन् १९९० कालखण्ड अल्टरनेटिभ ग्रन्ज संगीतबाट प्रेरित छ । रोशन महर्जन (पुर्व गीतारबाधक) र संजीव गुरुङको शब्द, संगीत रहेको गीतलाई भर्खरै बजारमा आएको ‘आइ फोन १० एक्स एस’बाट खिचिएको हो । फोनबाटै खिचिएपनि भिडियोको क्वालिटी राम्रो छ ।

‘पछिल्लो समय संगीतबाट सोचेजस्तो आर्थिक लाभ छैन । सर्जकलाई एउटा गीत र भिडियो तयार गर्न थुप्रै रकम खर्चिनु बाध्यता छ । त्यसैले आइफोनबाटै भिडियो निर्माण गरि खर्च कम गर्ने हेतुले यो गीत निर्माण गरेका हौँ । जसले नयाँ सर्जकलाई कम लगानी मै म्युजिक भिडियो निर्माण गर्न सकिन्छ भन्ने संदेश जाने आशा लिएका छौँ ।’ गीतमा स्वरसमेत भरेका गुरुङले बताए । हङकङका रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई हा च्युङले गिम्बल प्रयोग गरि आइफोनद्वारा खिचेका हुन् । भिडियोको निर्देशन तथा सम्पादन जीवन भाईले गरेका हुन । भने, भिजुअल इफेक्ट्सको रमेश गौतमले गरेका छन् ।

२०५५ सालमा पोखराको जनप्रिय क्याम्पसका विद्यार्थीहरु मिलेर ‘बफिन्स ९८’ नामक ब्याण्ड सुरु गरेका थिए । यस शिर्षकको अर्थ संगीतका बैज्ञानिक भन्ने हुन्छ । दुई दशक बढीको यात्रामा ‘बफिन्स ९८’ले दर्शक माझ लोकप्रियता कमाइसकेको छ । देशभक्ति भावका ओतप्रोत गीतले चिनिने यस ब्याण्डका ‘हाम्रो देश नेपाल’, ‘म मरे पनि मलाई यो देशको माया छ’, ‘शान्तिको गीत’ र ‘शहिद’ जस्ता गीत छन् ।

प्रेमगीतमा ‘बितिसक्यो त्यो दिन’, ‘बुकी फुल’, ‘मेरो माया रोधी घरकी’, ‘अनन्त सागरमा’, र ‘अन्जानैमा बसेछ माया’ रुचाइएका गीतमा पर्छन् । ‘बफिन्स ९८’ले ’नौलो कृति’ (२००१), ‘पहिचान (२००३) र ‘परावृत(२०१४) एल्बम पनि बजारमा ल्याइसकेको छ । समसामयिक गीत तर्फ ब्याण्डका ‘रुदैछ कर्णाली भुमि’, ‘माघ है आयो’ र ‘करोडौं सन्तान नेपालको’ सार्वजनिक भैसकेका छन् ।