१३ वर्षपछि सँगै सलमान र अक्षय

मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार सलमान खानले हिजो मात्र आफ्नो ५४ औं जन्मदिन निकै उत्साहका साथ मनाए । सामाजिक सन्जालमा बलिउड स्टारसँगै उनका फ्यानले जन्मदिनको शुभकामना दिए । जन्मदिनबाहेक सलमान हालैमात्र रिलिज फिल्म ‘दबंग ३’ लाई लिएर पनि चर्चामा छन् ।

यही चर्चाको समयमा सलमान र अक्षय कुमारका फ्यानका लागि खुशीको खबर छ । सलमान यतिबेला फिल्म ‘दबंग ३’ को सफलताको स्वाद चाखिरहेका छन् । यही अक्षय कुमार पनि फिल्म ‘गुड न्यूज’को धमाकेदार ओपनिङबाट प्रफुल्लित छन् । समाचार अनुसार चाँडै यी दुई स्टार एक फिल्ममा सँगै देखिने भएका छन् । यदी यो कुरा सत्य हो भने यो सुपरहिट जोडी झन्डै १३ वर्षपछि सँगै फिल्ममा देखिनेछन् ।

केही दिन अघि मात्र सन् २००४ मा निर्मित फिल्म ‘मुझसे शादी करोगी’को सिक्वेल बन्ने चर्चा सुनिएको थियो । यो फिल्ममा सलमान र अक्षय दुवैले अभिनय गरेका थिए । उनीहरुको अभिनयसँगै कमेडी पाटोलाई दर्शकले खुबै रुचाएका थिए । अक्षयले सँगै काम गर्ने विषयलाई अप्रत्यक्ष रुपमा संकेत पनि गरेका छन् । अक्षयले आफूले सलमानलाई निकै प्रेम गर्ने र उनीसँगै पुन सहकार्य गर्न तयार रहेको बताएका छन् ।

फिल्मको सिक्वेल आफूलाई निकै राम्रो लागेको र साजिद नाडियावालाले फिल्मको कथामा काम गर्नुपर्ने उनले उल्लेख गरेका छन् । फिल्म ‘मुझसे शादी करोगी’ मा सलमान र अक्षयका साथमा प्रियंका चोपडाको पनि अभिनय थियो ।