मट्टारेलाई विष्णुभक्त स्मृति रंगकर्मी पुरस्कार

काठमाडौं । यो वर्षको विष्णुभक्त फुँयाल स्मृति रंगकर्म पुरस्कार रंगकर्मी एवं हाँस्यकलाकार रमेश केसी मट्टारेलाई प्रदान गरिएको छ । २०७३ पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सत्यमोहज जोशीद्वारा लिखित नाटक ‘यज्ञवल्क्य’ मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै निधन भएका फुँयालको नामबाट हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आइएको छ ।

२०२७ सालदेखि अनवरत रुपमा नेपाली नाट्य क्षेत्रमा क्रियाशील रहेका मट्टारेलाई रंगमञ्च तथा नाट्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विष्णुभक्त तारादेवी स्मृती गुठीले २५ हजार नगदसहित सो पुरस्कार प्रदान गरेको हो ।

गुठीका अध्यक्ष डा. कमल फुँयालले आफ्ना पिताले जीवनको सम्पूर्ण समय नेपाली रंगमञ्चमा समर्पित गरेका कारण उनकै नामबाट नेपाली रंगमञ्चमा लामो सयमदेखि काम गर्दै आईरहेका रंगकर्मीलाई नियमित पुरस्कृत गर्ने बताए ।

कुसुम नाट्य समूहका निर्देशक एवं रंगकर्मी वैकुण्ठ भण्डारी संयोजक रहेको पुरस्कार छनौट समितिले दुई दशकभन्दा बढी समयदेखि निरन्तर कलाकारितामा क्रियाशील रहेका व्यक्तिहरु मध्येबाट पुरस्कृत व्यक्ति चयन गरेको हो ।

हरेक वर्ष फुँयालको निधन भएकै दिन पुस १९ गतेकै दिन स्मृति दिवसका अवसर पारेर सो पुरस्कार प्रदान गरिँदै आएको छ । यस अघि कलाकारहरु राजेन्द्र गड्तौला र लक्ष्मण सिंह बस्नेतलाई सो पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै गुठीले २० हजार राशी कै तारादेवी नवनारी छात्रबृत्ति सुविना खड्कालाई प्रदान गरेको छ ।