गोल्डेन ग्लोबमा १९१७ र जोकरको चर्चा

लसएन्जल्स(एजेन्सी) । गोल्डेन ग्लोब अवार्ड २०२० को समापन भइसकेको छ । यो विशेष समारोहमा सबैभन्दा बढी चर्चा बेस्ट फिल्म ‘१९१७’कै रह्यो । फिल्मले बेस्ट डिरेक्टर र बेस्ट मोसन पिक्चर जस्ता दुई ठूलो अवार्ड जित्यो । अवार्डमा फिल्म ‘जोकर’ ले दुई गोल्डेन ग्लोब अवार्ड जितेर इतिहास रच्यो । यो अवार्डमा कुनै कमिक बुक फिल्मले अवार्ड जितेको पहिलो पटक हो ।

फिल्म ‘जोकर’का अभिनेता जोकिन पछिल्लोपटक सन् २०१५ मा ‘इन हेरेन्ट वाइस’का लागि म्यूजिक कमेडी विधामा मनोनित भएका थिए । उनी यो विधामा सन् २००६ मा ‘वक द लाइन’ का लागि वेस्ट एक्टरको अवार्ड विजेता थिए । बेस्ट एक्टर बनेका जोकिन फिनिक्सलाई उनको यो भूमिकाका लागि पहिलोपटक समीक्षक र दर्शकले निकै प्रशंसा गरेका थिए । समीक्षकले फिल्म ‘जोकर’बाट पनि जोकिनले अवार्ड जित्ने अनुमान लगाएका छन् । यो अवार्डमा अमेरिकन गायिका तथा नायिका जुरी गारलेण्डको जीवनको भूमिका निभाएकी रिनी जेलवेगरले बेस्ट एक्ट्रेस अवार्ड जितिन् ।

अवार्डमा ‘रकेटमैन’ को ‘आई एम गोना लव मी अगेन’ ले बेस्ट ओरिजिनल सङको अवार्ड जित्यो । ‘फ्रोजन २’ र ‘द लायन किङ’ जस्ता ठूलो फिल्मलाई पछि पारेर यो वर्षको बेस्ट एनिमेटेड मोशन पिक्चरको अवार्ड ‘मिसिङ लिंक’ले जित्यो । ‘वन्स अपन ए टाइम इन हलीवुड’ बाट अभिनेता ब्राड पिटले बेस्ट सपोर्टिङ एक्टरको अवार्ड जिते । उनले टम ह्यांक्स, अल पचीनो र जो पेस्की जस्ता दिग्गज कलाकारलाई पछि पारे । यही फिल्मका निर्देशक क्वेन्टिन टैरेन्टीनोले बेस्ट स्क्रीनप्लेको अवार्ड पाए ।

म्यूजिकल कमेडी क्याटेगोरीमा यसपटक क्वेन्टिन टैरेन्टीनीको ‘वन्स अपन ए टाइम’ बेस्ट मुभी चुनियो । म्यूजिक कमेडी विधामा ‘रकेटमैन’का लागि टैरान ईगर्टनले बेस्ट एक्टर (मेल) को पुरस्कार पाए । यो विधामा अक्वाफीनाले ‘फेयरवेल’का लागि बेस्ट एक्टर (फीमेल) को अवार्ड सुरक्षित गरिन् । टेलीभिजन सीरीजको म्यूजिकल र कमेडी विधामा फोब वालर ब्रिजले बेस्ट एक्ट्रेसको अवार्ड जितिन् । फोबले यो अवार्ड ‘फ्लीबैग’का लागि पाइन् ।

अवार्डमा विश्व सिनेमामा आफ्नो योगदान र अभिनयका लागि टम ह्यांक्सलाई ‘सेसिल डी मिल’को अवार्ड प्रदान गरियो । त्यस्तै टेलिभिजनको क्षेत्रमा आफ्नो योगदान र प्रस्तुतिका लागि एलन डी जेनेरसलाई ‘कैरल बर्नेट अवार्ड’बाट सम्मान गरिएको थियो ।