जस्टिनलाई लाइम डिसिज

लसएन्जल्स(एजेन्सी) । क्यानेडियन प्रख्यात युवा गायक जस्टिन बीबर जहिल्यै पनि आफ्नो गीतसँगै व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छन् । उनको विश्वभरी नै निकै फ्यान फलोइङ छ । केही समय यता जस्टिनको अनुहारको चमकपना हराइरहेको चर्चा चलिरहँदा उनैले आफूलाई लागेको रोगबारे खुलासा गरेका छन् । जस्टिनले केही समय अघि आफ्नो इन्स्टाग्राम एकाउन्टमा केही तस्बिर सार्वजनिक गरेका थिए । जहाँ उनको अनुहार अन्य समयको भन्दा अलग देखिन्थ्यो ।

‘धेरै मानिसहरु जस्टिन बीबर निकै नराम्रा देखिन्छन्, कतै उनी असफल हुँदै गएको त होइन भन्ने चर्चा गर्छन । तर वास्तविकता यो भन्दा फरक छ । म लाइम डिसीजबाट पीडित छु । यो मात्र होइन मलाई क्रोनिक मोनोको पनि ठूलो समस्या थियो । जसकारण मेरो छाला, शक्ति र ब्रेन फङ्सन तथा पुरा स्वास्थ्यमा असर परेको छ’, उनले इन्स्टाग्राममा लेखेका छन् ‘यो सबै कुरा मेरो आउन लागेको डकुमेन्ट्री सिरिजमा देखाइनेछ । जसलाई म चाँडै नै युट्युबमा राख्दैछु । यो भिडियो हेरेपछि पछिल्लो दुई वर्षमा मैले मेरो शरीरको रोगसँग लडेर कसरी सफलता पाएको छु भन्ने थाहा पाउनुहुनेछ ।’

जस्टिन कयौ वर्षदेखि आफ्नो स्वास्थयलाई लिएर चिन्तित छन् । कैयौं दिनको उपचार पछि डाक्टरले उनलाई लाइम बिरामी भएको पत्ता लगाएका थिए । लाइम बिरामी टिक बाइटका कारण लाग्ने गर्दछ । बिरामीकै कारण जस्टिन डिप्रेसनमा पनि परेका थिए ।