यसकारण हेर्नुहोस् दीपिकाको छपाक

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ शुक्रबारबाट रिलिज हुँदैछ । यो फिल्मका विषयमा सामाजिक सन्जालमा चर्चा र परिचर्चा भइरहेको त छ नै, भारतबाहिरका दर्शकमा पनि यो फिल्मको बारेमा विशेष चासो छ । धेरैले यो फिल्मलाई बहिस्कार गर्ने निर्णय पनि लिएका छन् । यो फिल्म हेर्नैपर्ने धेरै कारण छन् । जुन थाहा पाउने दर्शकले अवश्य पनि यो फिल्म हेर्नेछन् ।

फिल्मको कथा एक एसिड अट्याक सभाइबर लक्ष्मी अग्रवालको जिन्दगीमा आधारित छ । फिल्ममा एसिड आक्रमणबाट पीडित बनेका युवतीहरुको अवस्थालाई देखाइएको छ । यो फिल्ममार्फत तपाईंलाई युवतीको समस्याबारे थाहा हुनेछ, जसलाई हामीले त्यति ध्यान दिन सकेका छैनौं ।

फिल्मकी प्रमुख पात्र दीपिका पादुकोणले यो फिल्ममा निकै राम्रो काम गरेकी छन् । एक एसिड पीडित मालतीको भूमिकामा दीपिकाको काम तारिफयोग्य छ । उनको पीडा, उनको संघर्ष र आम मानिसबीच आफ्नो पहिचान बनाएको दृश्यले तपाईंलाई भावुकसँगै खुशी पनि बनाउनेछ । दीपिकाले फिल्ममा एक कमजोर युवतीदेखि शक्तिशाली महिलाका रुपमा आफूलाई प्रस्तुत गरेकी छन् । यो फिल्मलाई दीपिकाले हालसम्म अभिनय गरेका फिल्म भन्दा उत्कृष्ट मान्न सकिन्छ ।

निर्देशक मेघना गुलजारले जब आलिया भट्टका साथ फिल्म ‘राजी’ बनाइन्, उनको कामको सबैले प्रशंसा गरे । यो फिल्ममा मेघनाले आफ्नो निर्देशकीय कलालाई पछाडि पारेकी छन् । मेघनाको यो फिल्म र एसिड आक्रमण जस्तो घिनलाग्दो अपराधलाई लिएर हेर्ने नजर सजिलै बुझ्न सकिन्छ । उनी यो फिल्ममार्फत एसिड आक्रमणबाट पीडितलाई न्याय दिलाउन पूर्ण रुपमा कोशिस गरेकी छन् ।

यो फिल्म हेर्ने दर्शकले कसरी जिन्दगीमा आउन लागेका समस्यालाई समाधान गर्न सकिन्छ भन्ने सिक्नेछन् । कसरी मानिसलाई हिम्मत गर्न जरुरी छ र निराश भयो भने कुनै पनि समस्यालाई समाधान गर्न सकिँदैन भन्ने फिल्मले देखाउनेछ ।