अष्ट्रेलियामा विवेकको क्लोज टु माइ हार्ट

काठमाडौं । करिब तीन दशकदेखि नेपाली संगीतमा फरकपनसहित आफ्नो पहिचान बनाएका पोखरेली सांगीतिक समूह ’कन्दरा’ का गायक विवेक श्रेष्ठले अष्ट्रेलियामा अन्तर्राष्ट्रियस्तरको एकल गायन कार्यक्रम गर्ने भएका छन् । इयुफोनिकः क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ नाम दिइएको कार्यक्रममा विवेकले आफ्नो सांगीतिक जीवनमा आफूलाई प्रभाव पारेका र सवा सयवर्ष लामो नेपाली संगीतको कालखण्डमा नेपाली संगीतमा योगदान दिएका श्रष्टाका अजर–अमर करिब २ दर्जनजति गीत प्रस्तुत गर्नेछन् ।

राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गायक विवेकले प्रवासमा रहेका नेपालीहरूको नेपाली संगीतमा लामो योगदान नरहे पनि आफ्नोपनको गीत–संगीतमा अथाह माया, सद्भाव र लगाव रहेको बताए । ‘नेपालमा भैरहेका संगीत रियालिटी शोहरूलाई त्यो स्वरूपमा प्रस्तुत गर्न पनि प्रवासीहरूको अहम भूमिका छ । त्यत्तिकै स्तरका कार्यक्रम विदेशमा पनि नेपालीहरूले गर्नु जरुरी छ । त्यसैले मैले यो कार्यक्रमको परिकल्पना गरेको हुँ र यसलाई विश्वव्यापी रूपमा लैजानका लागि अभियानको रूपमा सुरु गरिएको छ’,उनले भने, ‘ म पछि नयाँपुस्ताका अन्य कलाकारले पनि काठमाडौंदेखि संसारका विभिन्न मुलुकमा गर्नेछन् ।’

गीतकार एवं फिल्म निर्देशक यादव खरेलले नेपाली संगीत र पुराना श्रष्टाका सिर्जना र चर्चा हराउँदै गएको योबेला विवेकले गर्न लागेको अभियान सराहनीय र स्तुत्य पनि रहेको बताए । संगीतकार एवं गीतारवादक अनिल शाहीले विवेकको यो प्रयासले संसारभर हुने कन्सर्टमा स्तरीयता ल्याउनमा सहयोग गर्ने र जोकोहीले पनि विवेकको यो प्रयासको प्रशंसा गर्दै सहयोग गर्नु पर्ने बताए ।

वेसले कन्फरेन्स एण्ड थिएटरमा आगामी फेब्रुअरी १५ तारिख र अष्ट्रेलियामा भएको एमटीभी अनप्लग्ड को पहिलो कार्यक्रमको सभाहल मिट मार्केट मेल्बर्नमा फेब्रुअरी २२ तारिखका दिन हुने कार्यक्रमलाई ग्रेस इन्टरनेसनल एजुकेसन एण्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको छ भने सिड्नीमा हुने कार्यक्रमको मुख्य आयोजकमा अष्ट्रेलियाको प्रख्यात संस्था सोलांगटर गुठी अष्ट्रेलिया रहेका छन् भने पोखरेली समाज अष्ट्रेलिया सहआयोजक रहेको छ ।