को बन्ला नेपाली अर्जुन रेड्डी

काठमाडौं । तेलुगु सफल फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने भएको छ । नेपाली फिल्म निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले फिल्मको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

साउथ स्टार विजय देवगरकोन्डा अभिनीत यस फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । फिल्मले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको थियो । यसै फिल्मको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै सफलता हात पारेको थियो । बलिउड नायक साहिद कपुर अभिनीत फिल्मले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

युवा फिल्म्सले यसअघि नेपाली फिल्म कबड्डी , पुरानो डुङ्गा लगायतका चलचित्र यु.एस.एमा वितरण गरिसकेको छ । साथमा युवा फिल्म्सको ब्यानरमा चलचित्र ’सफर’ निर्माण भएको छ । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्मका कलाकार लगायत अन्य टिमको बारेमा छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।