न्यूजर्सीमा शिवलाई ह्याम्लेट अवार्ड

काठमाडौं । गायक शिव परियार अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड इन आर्ट्स’ बाट सम्मानित भएका छन् । जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सी च्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्त रूपमा गायक परियारलाई प्रदान गरेका हुन् ।

गायक परियारले आफ्नो २६ वर्षको सांगीतिक यात्रामा ५ सयभन्दा बढी गीत गाईसकेका छन् भने १० वटा गिती एल्बममा आफ्नो स्वर र संगित दिइसकेका छन् । जर्सी सिटी शहरमा जनवरी १२ तारिख न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामा भएको सांगीतिक एवं सम्मान साँझमा गायक परियारले आफ्ना सुमधुर गीतहरू गाएर उपस्थित पाहुनाहरूलाई भरपुर मनोरन्जन दिलाएका थिए।

उनका एल्बमहरु मोक्ष्य (२००५), स्वयम (२००८), कदम्बिनी (२००८),क्या दामी (२००९), फाटेको मन(२०१०), पागल (२०११), कथाले मागेपछि(२०१२), ओन्ली यू मेरो साथी (२०१२), टाढाको साथी(२०१३) र शिव बूक (२०१५) छन् । उनी सन् २०१६ मा नेपाल सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।