भाग्यलाई दोष दिँदै सुशील

काठमाडौं । आगामी फागुन २ गते रिलिज हुने फिल्म ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नायक सुशील श्रेष्ठले भाग्यलाई दोष दिइरहेका छन् । रुविना थापा र सुशील फिचर्ड टिजरमा उनले भाग्यलाई किन दोष दिइरहेका छन् भन्ने थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

सौरभ चौधरी निर्देशित फिल्मको टिजरमा प्रेम, रोमान्स र पीडालाई देखाइएको छ । भ्यालेन्टाइन डेको छेको पारेर रिलिज हुने फिल्ममा विनोद सापकोटाको लगानी छ । फिल्ममा विश्वजीत रिमालको पनि अभिनय छ ।

मधु बास्तोलाको कथा र पटकथा रहेको फिल्ममा साहिल खानको सहनिर्देशन, सन्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत छ । फिल्मका दुई गीत सार्वजनिक भइसकेका छन् । जुन गीतलाई दर्शकले निकै रुचाएका छन् ।