अष्ट्रेलियामा फिल्म वितरण गर्दै ज्ञानेन्द्र

काठमाडौं । अष्ट्रेलियामा रहेर घर–जग्गा व्यवसाय अर्थात रियल स्टेटमा स्थापित भएर निर्माण व्यवसायमा समेत आवद्ध भएका नेपालका ज्ञानेन्द्र कार्कीले नेपालमा व्यापार व्यवसाय विस्तारसँगै फिल्म बनाउने घोषणा गरेका छन् । रंगेली, मोरङमा जन्मिएका कार्कीले अष्ट्रेलियाको सिड्नी शहरमा सहभागितामूलक व्यवस्थापनमा रियल स्टेट, व्यवस्थापन र निर्माणका सबै प्याकेजसंगै ‘अर्बन होम्स न्यू साउथवेल्स (एनएसडब्ल्यू) नामक नेपाली कम्पनि सञ्चालन गरिरहेका छन् ।

एक महिना लामो नेपाल भ्रमणपछि हालै अष्ट्रेलिया फर्किएका अर्बन होम्स न्यू एनएसडब्ल्यूका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कार्कीले नेपालमा व्यवस्थित शैलीका सामुहिक आवास निर्माणका साथै नेपाली फिल्मको निर्माण तथा अष्ट्रेलियामा त्यसको वितरणमा समेत सहभागिता जनाउने घोषणा गरेका हुन् ।

कार्कीले यसै वर्षदेखि नेपाली फिल्ममा लगानी गर्नुका साथै अष्ट्रेलियामा नेपाली फिल्मलाई प्रदर्शन गर्नका लागि वितरकको रुपमा समेत काम गर्न लागेको स्पष्ट पारे । ‘नेपाली फिल्मले विस्तारै अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश पाएको छ,’ कार्की भन्छन्— ‘हामीले वर्षमा कम्तिमा एउटा नेपाली फिल्म निर्माण गरेर त्यसमा नेपाल र अष्ट्रेलियामा मात्र होइन, विश्वभरी नै प्रदर्शन गर्ने लक्ष्य लिएका छौं ।’

काठमाडौंमा रह“दा कार्कीले केही फिल्म निर्देशक, लेखक, निर्माता तथा फिल्म निर्माण गर्ने संस्थाका प्रतिनिधिहरुसँग समेत छलफल गरेका थिए । ‘छ महिना भित्रै हामी पहिलो फिल्मलाई लिएर फ्लोरमा जाने योजना बनाएका छौं, कार्कीले भने—‘हामीले निर्माण गर्ने पहिलो फिल्मको स्क्रिप्टको लेखन कार्य समेत प्रारम्भ भैसकेको छ ।’