जिन्दगीबाट किन निराश सेल्फी किङ ?

काठमाडौं । आगामी माघ २४ गते रिलिज हुने फिल्म ‘सेल्फी किङ’को वियोगको गीत ‘जिन्दगीको के छ र भर’ सार्वजनिक भएको छ । गीतमा प्रमुख कलाकार विपिन कार्कीको पीडाभावलाई देख्न सकिन्छ । एक हास्यकलाकारको तीन दिने महोत्वस यात्राको कथा भन्ने फिल्ममा विशाल सापकोटाको निर्देशन छ ।

सुभाष भुसालले संगीत भरेको गीतमा केतन क्षेत्रीको स्वर छ । गीतमा सुरज गैरे ‘विवस’को शब्द छ । गीतको लय र संगीत शैली सुन्दा यो फिल्मका निर्माता सुवास थापाले निर्माण गरेको अघिल्लो फिल्म ‘प्रसाद’को ‘लै लै’ बोलको गीतको झल्को आउँछ ।

यो फिल्ममा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ । निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ । दिनेश राउत र सुवास थापाले फिल्म निर्माण गरेका हुन् । सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रवल कोइराला र राजेश बिशुराल सह–निर्माता छन् ।