कहिले गुत्थी, कहिले रिंकु भाभी

मुम्बई(एजेन्सी) । रातो रिबनको सहायताले कपालमा चुल्ठी बाटेर कमिक महिला ‘गुत्थी’को अवतारमा जब लोकप्रिय अभिनेता एवं कमेडियन सुनील ग्रोबर स्टेजमा चढ्छन्, तब दर्शक खुशीले गद्गद हुन्छन् । उनको रिंकु भाभी नामको भूमिका पनि दर्शकमाझ निकै लोकप्रिय छ । आफू पुरुष भएर महिला भूमिकामा किन आकर्षित हुन्छन् भन्ने कुराको सुनीलले खुलासा गरेका छन् ।

सुनीलले पर्दामा महिलाको भूमिका निभाउन आफूलाई निकै मनपर्ने बताएका छन् । ‘पुरुषको रुपमा भन्दा मलाई महिला रुपमा अभिनय गर्न सजिलो लाग्छ । त्यसकारण म टेलिभिजनमा महिला भएर आउँछु । मैले कैयौं महिलाको भूमिका निभाएको छु । मलाई महिला बन्न निकै मनपर्छ’, उनले भनेका छन् ।

सुनील मात्र एक अभिनेता होइन, जसले महिलाको भूमिका निभाएका छन् । टेलिभिजनको पर्दामा कृष्ण अभिषेक, गौरव गेरा र अली असगर जस्ता अभिनेताले पनि महिलाको चरित्र निभाएका छन् । ‘महिला कलाकारले पनि पर्दामा पुरुषको भूमिका निभाउन सक्नुपर्छ भन्ने मेरो मान्यता छ । मेरा लागि महिला वा पुरुष भन्दा पनि जो राम्रो भूमिका निभाएर दर्शकलाई हसाउन सक्छ, ऊ नै विशेष लाग्छ । त्यसकारण मेरा लागि महिला भूमिका नै अब्बल छ’, उनले भनेका छन् ।