दी कर्माले बढायो परमिताको ढुकढुकी

काठमाडौं । यही शुक्रबार रिलिज हने फिल्म ‘दि कर्मा’को राजधानीमा च्यारिटी शो गरिएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ आयोजना गरिएको च्यारिटी शोबाट उठेको सम्पूर्ण रकम कलाकार संघलाई नै प्रदान गरिएको थियो । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले च्यारिटीको लागि हलमा रिलीज नहुँदै फिल्म प्रदर्शन गरेर सहयोग गरेकोमा कलाकार संघ सदैव आभारी रहने बताए । ‘च्यारिटीलाई फिल्म निशुल्क दिने निर्माताहरु पनि भेटिने रहेछ, उहाँहरुले त झन् टिकट समेत किन्नुभएको छ । यो सहयोग कलाकार संघले कहिल्यै बिर्सने छैन’, उनले भने ।

फिल्म हेरिसकेपछि नायिका परमिता आरएल राणा तथा अभिनेता बुद्धि तामाङले प्रतिक्रिया लिएका थिए । नायिका राणाले आफ्नो कामलाइ प्रशंसा गरेकोमा सबैलाई धन्यवाद दिईन् । ‘यो फिल्म राम्रो पनि बनेको छ त्यसकारण पनि माघ १७ मा हलमा गएर हेर्नुहोला अनि नेपाली फिल्मलाई माया पनि गर्नुहोला’, प्रसन्न मुद्रामा राणाले भनिन् । अभिनेता तामाङले पनि राम्रो प्रतिक्रियाले खुशी लागेको बताए ।

फिल्मका निर्देशक देव कुमार श्रेष्ठले कलाकार संघलाई फिल्म मार्फत सहयोग गर्न पाउनु पनि निकै गर्वको कुरा भएको बताए । निर्माता तथा कलाकार जय राज रायले कलाकार संघले आर्थीक सहयोग जुटाउन खोजिरहेको थाहा पाएपछि आफुले फिल्म च्यारिटीलाई दिने निधो गरेको बताए । उनले थपे, ‘म आँफै पनि निर्माता तथा कलाकार भएकोले पनि सहयोगको कुरा आएपछि हामीले च्यारिटीलाई फिल्म दिएका हौँ । ‘दि कर्मा’को यो च्यारिटीबाट संकलित सम्पूर्ण रकम हाम्रो टीमले कलाकार संघलाई नै प्रदान गरेको छ’ । निर्माता श्रीदेव बि.एल.ले फिल्म हेरेर दिग्गज कलाकारहरु सबैले राम्रो प्रतिक्रिया दिएको बताए । ‘दर्शकले पनि मन पराउनेमा पूर्ण बिश्वास छ । हाम्रो टीमले राम्रो फिल्म बनाउने प्रयास गरेका छौँ’, बि.एल.ले बताए ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्ममा परमिता, बुद्दी, जयसँगै करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, संगीता नापित, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।