आमाको अर्थ बुझाउँदै मिथिला

काठमाडौं । आगामी फागुन ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आमा’को नयाँ मार्मिक गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक भएको छ । गीतले आमाको अर्थलाई प्रष्ट्याउँछ । आमाले सन्तानका लागि गर्ने संघर्षलाई निकै नै गहिरो रुपमा प्रस्तुत गरेको गीतमा केतन क्षेत्रीको स्वर, भूपेन्द्र खड्काको शब्द र सुवाष भुषालको संगीत छ ।

दिपेन्द्र के खनालको छायांकन, लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको शीर्ष भूमिकामा मिथिला शर्मालाई देख्न सकिन्छ । श्रीमान् बिरामी भएपछि छटपटिएकी एक श्रीमती र उनको सन्तानप्रतिको मायालाई मिथिलाको भावबाट प्रकट गरिएको छ । गीतमा नायिका सुरक्षा पन्त र सरिता गिरी फिचर्ड छन् ।

फिल्ममा देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदिप खतिवडा, झकेन्द्र जीसी र विकास खनालको अभिनय छ । शर्मिला पाण्डेको लगानीमा बनेको फिल्ममा सन्तोष अधिकारी सह–निर्माता छन् । फिल्ममा दिर्घ खड्काको सम्पादन छ ।