एउटा किङसँग अर्को किङको सेल्फी

काठमाडौं । कमेडी शैलीका फिल्म निर्माण गरेर सफलताको स्वाद चाखिरहेका अभिनेता तथा निर्माता दीपकराज गिरीलाई कमेडी किङ भन्दा फरक नपर्ला । त्यस्तै हरेक फिल्ममा फरक फरक भूमिकामा अभिनय गरेर दर्शकको मन जितेका विपिन कार्की पनि एक हिसाबले अभिनय किङ नै हुन् । आउँदो माघ २४ गतेबाट प्रदर्शन हुने फिल्म ‘सेल्फी किङ’ टेलिभिजनमा हिट भएर अस्ताउदै गरेको हाँस्यकलाकारको एक घटनालाई प्रस्तुत गरिएको छ । फिल्ममा विपिन कार्की प्रमुख भूमिकामा छन् ।

एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण भएको फिल्मको चर्चा भइरहदा कलाकार दीपकराज गिरीले विपिनलाई भेटेका छन् । पर्दामा विपिनले कमेडियनको चरित्र निर्वाह गर्दै गर्दा दीपकले फिल्मको बारेमा भलाकुसारी गरेका हुन् । रील लाइफमा कमेडियनको भूमिका निर्वाह गरेका विपिन र रियल लाइफमा कमेडी मार्फत नै कलाकारिता प्रारम्भ गरेका दीपकले गरेको कुराकानी युट्युबमा राखिएको छ ।

जहाँ दीपकले एउटा कमेडियन हुँदा मन भित्रका भावनालाई कतिसम्म दबाउनु पर्छ भनेर उल्लेख गरेका छन् । उनले फिल्मको ट्रेलरमा आफ्नै कथा पाइएको समेत बताएका छन् । उनले भिडियोको अन्त्य तीर लगभग १७ मिनेटमा आफ्नो एउटा दुखान्त समेत साटेका छन् । फिल्ममा स्क्रिप्ट अनुसार सेल्फी किङ्गले महसुस गरेको हाँस्यकलाकारको पिडा र रियल लाइफमा भोग्नु पर्ने पिडाको बारेमा विपिन र दीपकले अनुभव साटेका हुन् ।

तिन दिनको कथामा तयार भएको भनिएको फिल्ममा सेल्फी किङ्ग अर्थात विपिन कार्की एक कार्यक्रममा पुगेर फर्किंदासम्मको कथा हो । कार्यक्रमकै लागि सोलुखुम्बु पुगेर त्यहाँ कार्यक्रममा सरिक भएर फर्किने कथाको क्रममा आउने उतारचढावमै फिल्म केन्द्रीत छ । एउटा कमेडियनले हसाउन स्टेज चढ्दा उसको बाहिर जिम्मेवारीसँगै मन भित्रको पिडालाई निर्देशक विशाल सापकोटाले प्रस्तुत गरेका छन् । फिल्ममा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ ।

विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।