पैतिस वर्षपछि के घर के डेरा

काठमाडौं । पैतिस वर्षअघि प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर सुब्रतराज आचार्यले नयाँ फिल्म ‘के घर के डेरा’ निर्देशन गर्ने भएका छन् । राजधानीमा सोमबार एक कार्यक्रमका बीच फिल्मका अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीसहित अन्य कलाकार सार्वजनिक गरियो ।

शुभ लाभ फिल्मस र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ । राजिव श्रेष्ठ र किरण महर्जन निर्माता रहने फिल्ममा ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्माता छन् । त्यस्तै, यमप्रसाद ओली सह–निर्माता रहेका छन् । सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगेको हो ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने फिल्मलाई दिर्घ वीर गुरुङले खिच्नेछन् । यस्तै, मित्र डि गुरुङको सम्पादन रहने फिल्ममा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रतराज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । फिल्मलाई रोहित–रत्न (आरआर) ले वितरण गर्नेछ । निर्देशक आचार्यले यसअघि ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए ।