गोर्खा वारियरबाट प्रशान्तको पुनरागमन

काठमाडौं । तेस्रो इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ झन्डै ४ वर्ष पछि फिल्म ‘गोर्खा वारियर’मार्फत अभिनयमा पुनरागमन गर्दैछन् । चार वर्ष अघि ‘परदेशी’मा अभिनय गरेपछि गुमनाम बनेका प्रशान्त फिल्म ‘वीर विक्रम’ फेम्ड निर्देशक मिलन चाम्सले निर्देशन गर्ने ‘गोर्खा वारियर’मा अभिनय गर्न लागेका हुन् । फिल्मले वीर गोर्खालीको वीरगाथा बोल्नेछ ।

लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा प्रदिप भारद्वाजले लेखेका हुन् । सन् २०२१ मा विश्वभर प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुनसँगै हलिउड कलाकारहरुको पनि अभिनय रहनेछ ।

फिल्मबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्नेछन् । फिल्मको छायांकन यूके, अफगानिस्तान र नेपालमा हुने बताइएको छ ।