मनोजलाई सघाउँदै सेल्फी किङ

काठमाडौं । बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार अर्थात यही २५ गते फिल्मको बिषेश शो आयोजना गर्न लागेको हो । बोनम्यारो रोगबाट केही समयदेखि पिडित मनोजको अहिले उपचार भइरहेको छ ।

पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ । ‘बिश्वका होचा कलाकारको छबि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले फिल्मको बिषेश शो गर्न लागिएको हो ।’ विशेष शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन् ।

फिल्मको बिषेश शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ । शो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे राखिएको छ । उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत उपस्थिति रहने अध्यक्ष शाहीले जानकारी दिए । विशाल सापकोटा निर्दे्शित फिल्ममा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ ।

फिल्ममा विपिन कार्की , लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।