नृत्यमा १८ टेक खान्छन् सलमान

मुम्बई(एजेन्सी) । प्रभुदेवालाई भारतकै प्रतिभाशाली डान्सर मानिन्छ । तर जब स्टारडमको कुरा आउँछ, त्यो बेला सलमान खानको ख्यातीको अगाडि अन्य फिका झैं हुन्छन् । यो बेला सलमानसँग जोकोही जोडिएर प्रोजेक्ट ल्याउँछन्, त्यो बक्सअफिसमा हिट नै हुन्छ । फिल्म ‘वान्टेड’ र ‘दबंग ३’ पश्चात प्रभु र सलमान ‘राधे’मा व्यस्त छन् ।

सलमानलाई फिल्ममा अभिनय गराउनु भन्दा पनि नचाउन निकै गाह्रो हुने प्रभुदेवाको अनुभव छ । ‘सलमानलाई डान्समा १६ देखि १८ रिटेक गर्नुपर्छ, जबकी उनलाई त्यसको जरुरी पनि पर्दैन । उनी काममा परफेक्ट चाहन्छन् । आफ्नो निर्देशकलाई थोरै भए पनि असन्तुष्ट बनाउन चाहँदैनन्’, प्रभु देवाले भनेका छन् ।

प्रभु देवाको अनुभवमा सलमानसँग युनिक स्टाइल र एटिच्युड छ । ‘सलमान नृत्यमा जे कुरा गर्न चाहन्छन्, त्यो कुरा गर्न उनलाई छोडिदिनुपर्छ । कोरियोग्राफर वा निर्देशकले हस्तक्षेप गर्नुहुँदैन’, उनले भनेका छन् ।

सलमानको ‘राधे’ यसै वर्षको इदमा रिलिज हुँदैछ । फिल्ममा सलमानका अलावा दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ फिचर्ड छन् ।