क्रिकेट रंगशालामा सन्दिप र सुन्तलीको ठुम्का

चितवन । सुबिहानी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘सेन्टी भाइरस’को प्रमोशनल गीतको छायांकन गरिएको छ । आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउने फिल्मको ‘पार्टी जिताइदे’ बोलको गीतको चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा छायांकन गरिएको हो ।

गीतमा फिल्मका प्रमुख कलाकारहरु कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सनविक्रम राई फिचर्ड छन् । भिडियो फिल्मका लेखक दीपक आचार्यले निर्देशन गरेका छन् । भिडियोमा राजनितिक पार्टीको प्रचार तथा दुईपार्टी बिचको झैझगडालाई देखाइएको छ । फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बासकोटाको संगीत छ ।

फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो र सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् । यो फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।