फूलमानको नीरफूलमा रेखाको बदनामी

काठमाडौं । प्रणय दिवसको अवसर पारेर फिल्म ‘नीरफूल’को नयाँ गीत ‘तिमी बदनामी’ सार्वजनिक भएको छ । फिल्मका निर्देशक फूलमान बलको शब्द रहेको गीतमा दुर्गा खरेलको स्वर तथा अर्जुन पोखरेलको संगीत छ । गीतमा नायिका रेखा थापालाई एक डान्सबारको गायिकाका रुपमा प्रस्तुत गरिएको छ । फिल्मकी नायिका शान्ति वाईवा भूकम्पपछि जीवनयापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्यहरुबाट बुझिन्छ ।

आगामी फागून ३० गते रिलिज हुने फिल्ममा सचिन घिमिरे र निर्देशक बलको पटकथा छ । सचिन फिल्मको एशोसिएट निर्देशक पनि हुन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।