सेन्टी भाइरसको पार्टी जिताइदे

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘सेन्टी भाइरस’को दोस्रो गीत ‘आफ्नो पार्टी जिताइदे’ सार्वजनिक भएको छ । प्रमोद खरेल र विद्या मन्जु तिवारीको स्वर रहेको गीतमा कुञ्जना घिमिरे, विल्सनविक्रम राई, सन्दीप क्षेत्री, एलिश राईलगायत फिचर्ड छन् । गीतले आफ्नो पार्टीलाई जिताउन कार्यकर्ताले गर्ने गतिविधिलाई समेटिएको छ ।

हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत छ । भिडियोमा दीपक आचार्यको निर्देशन र एलिश राईको कोरियोग्राफी छ । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा सहयोग रकम जुटाउन धुर्मुस–सुन्तलीले निर्माण गरेको फिल्मले प्राप्त मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गर्ने घोषणा गरिसकेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय छ ।