जयाको ड्रिम वाकमा आफ्नै जीवन

काठमाडौं । कलाकार जया शर्माको एकल चित्रकला प्रदर्शनी शुक्रबारबाट शुरु भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा जारी प्रदर्शनी तीन दिनसम्म चल्नेछ । जयाले आफ्नो जीवन, यसमा आएका उत्तारचढाव र चित्रकलाको आफ्नो सुनौलो यात्रालाई विभिन्न चित्रमार्फत उतारेकी छिन् । ‘ड्रिम वाक २०३३’ नाम दिइएको यो प्रदर्शनीमा जयाले आफ्नो जीवनकालमा पार गरेका विभिन्न महत्वपूर्ण चरणहरुलाई सुन्दर चित्रमार्फत अवलोकन गर्न सकिन्छ ।

नेपाल ललितकला क्याम्पसका पुर्व क्याम्पस प्रमुख एवम् चित्रकार गोविन्द सिंह डङ्गोलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जयाका मातापिता सावित्री शर्मा र विजयचन्द्र शर्माले प्रमुखआतिथ्यता ग्रहण गरेका थिए । ‘मेरा जीवनमा महत्वपुर्ण भुमिका खेल्ने व्यक्तिहरु यहाँ आउनुभएको छ । तपाइँहरुको उपस्थितीले म प्रतिको माया दर्शाएको छ । म चाहन्छु सबैले मेरो सिर्जनाको उज्यालो महशुस गरुन्’, जयाले भनिन् ।

बिम्बात्मक शैलीको चित्रबाट प्रदर्शनी शुरु गरिएको छ भने अन्त्य पनि बिम्बात्मक शैलीमै गरिएको छ । जन्म र मृत्यु जस्तो थाहा नहुने र महशुस गर्न नसकिने दुई प्रक्रियाको बिचमा रहने जिन्दगीका विभिन्न भोगाइहरु यसमा समेटिएका छन् । बाल्यावस्थादेखि नै कलाविद्यामा आकर्षित जयाले चित्रकलामा आफ्नो परिचय स्थापित गरेकी छिन् । उनी कुनै बेला मोडलिङ र पत्रकारितामा समेत सक्रिय थिइन् ।