८३ वर्षीया आमाले हेरिन् आमा

काठमाडौं । शुक्रबारदेखि रिलिज भएको फिल्म ‘आमा’ हेर्न वयस्कदेखि वृद्धवृद्धाको उल्लेख्य उपस्थिति रहेको पाइएको छ । राजधानीको जय नेपाल हलमा फिल्म हेर्न ८३ वर्षीया एक आमा पनि आफ्ना छोराछोरीसहित हल पुगेकी थिइन् ।

फिल्म हेर्न ‘आमा–छोरी, ‘आमा–छोरा’ हलमा देखिएका छन् । चलचित्रका वितरक करण क्रेजीले प्राय फिल्म हेर्न हलमा पुग्ने दर्शक भन्दा नयाँ दर्शक हलमा देखिएको बताए । ‘परिवारसहित आउने दर्शकको बाक्लो उपस्थिति छ’, उनले भने । फिल्म हेरेका अधिकांश दर्शकले फिल्मले छोरी पनि छोरा भन्दा कम छैनन् भन्ने कथा देखाएकोले मन परेको बताए ।

फिल्मका निर्देशक दीपेन्द्र के खनालले आफूले जे कुरा सोचेर फिल्म बनाएको थियो, त्यो कुराले दर्शकलाई जोडेकोमा खुशी व्यक्त गरे । नायिका सुरक्षा पन्तले दर्शक रुवाएकोमा दुःख लागेपनि मनदेखि नै दर्शक रोएको देख्दा खुशी पनि लागेको सुनाइन् । निर्मात्री, शर्मिला पाण्डेले ‘आमा’ जस्तो चलचित्र अब आफूले बनाउन नसक्ने बताइन् । फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा, आशान्त शर्मा, देशभक्त खनाल, सरिता गिरीलगायतका कलाकारको अभिनय छ ।