नारायणको परदेशी बन्दै प्रकाश सपुत

काठमाडौं । फिल्म ‘परदेशी’को सफलता पछि त्यसको सिक्वेल ‘परदेशी–२’ बन्ने भएको छ । ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी फिल्मको शुभसाइत गरिएसँगै फिल्म छायांकनका लागि तयार भएको छ । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल फिल्मका लेखक र निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी–२’ को निर्देशन गर्नेछन् । मुभिज डटकमको व्यानरमा निर्माण हुने फिल्मबाट लोकप्रिय गायक प्रकाश सपुत नायकका रुपमा डेब्यू गर्दैछन् ।

‘परदेशी–२’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो । नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको संघर्षमय जीवनको कथा हो । मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली ओराली र सिंगो देशको यादले सताएको कथा हो’, निर्देशक रायमाझीले भने ।

फिल्मका निर्माता राजेश वंशल हुन् । फिल्ममा प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको अभिनय रहनेछ ।फिल्ममा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीको नृत्य, अष्ट महर्जनको द्वन्द्व र मानकृष्ण महर्जनको छायांकन रहनेछ ।