कोरोनाका कारण रोकियो मिशन इम्पोसिबलको सुटिङ

लसएन्जल्स(एजेन्सी) । चीनमा फैलिएको कोरोना भाइरसको असर अन्तर्राष्ट्रिय फिल्म उद्योगमा पनि परेको छ । चीन पछि विश्वभरीका मानिसहरु यो भाइरसबाट प्रभावित भइरहेका छन् । हलिउडको बहुप्रतिक्षिति फिल्म ‘मिशन इम्पोसिबल ७’ को सुटिङमा पनि यो भाइरसको असर परेको छ ।

टम क्रुज स्टारर फिल्मको सुटिङ इटालीमा भइरहेको थियो । इटालीमा पनि कोरोना भाइरसको प्रकोप शुरु भएपछि तीन हप्ताका लागि यो फिल्मको सुटिङ रोकिएको छ । फिल्मको सुटिङ रोक्नका लागि प्रोडक्सन हाउस पेरामाउण्टले सूचना जारी गरिसकेको छ ।

‘हाम्रा कलाकार र क्रु सदस्यको सुरक्षाका लागि हामीले यो कदम उठाएका हौं । कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै सरकारले भेला हुन रोक लगाएको छ । यसकारण हामीले प्रोडक्सनको तीन हप्ताको योजनालाई तत्कालका लागि रोकेका छौं’, सूचनामा भनिएको छ ।

बीबीसीका अनुसार इटालीमा हालसम्म २ सय भन्दा बढीलाई कोरोना भाइरसको लक्षण देखिएको जनाएको छ । यसभन्दा अघि पनि जेम्स बोण्डको फिल्म ‘नो टाइम टू डाई’ माथि पनि कोरोना भाइरसको असर देखिएको थियो । डेनियल क्रेगको फिल्मले चीनमा हुन लागेको प्रिमियर रद्द गरेको थियो ।