विकासको मिरा साउन्डमा अन्जुको कैची

काठमाडौं । संगीतकार विकास चौधरीको व्यवस्थापनमा राजधानीको धोबीधारामा मिरा साउन्ड रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । गायिका अन्जु पन्तले स्टुडियोको शुभारम्भ गर्दै संगीतकार चौधरीको व्यवस्थापनमा आएको मीरा साउन्डमा पक्कै पनि गुणस्तरीय रेकर्डिङ हुने बताइन् । उनले गीतसंगीत एवं फिल्म क्षेत्रमा धेरै स्टुडियोहरु भए पनि मीरा साउन्डले फरकपन दिने विश्वास लिएको दाबी गरिन् ।

मीरा साउन्डमा गीतकार हरि उप्रेती, गायक लोक पौडेल संचालक रहेका छन् भने मीरा पाठक स्टुडियोको प्रोप्राइटर रहेकी छन् । संगीतकार चौधरीको व्यवस्थापनमा मिरा साउन्ड संचालनमा आएको हो । मिरा साउन्डमा गीत संगीत रेकर्डिङ, फिल्म डविङ एवं अत्याधुनिक प्रविधियुक्त क्यामेरा, ड्रोन क्यामेरा लगायतका फिल्म तथा म्यूजिक भिडियोको सुटिङका लागि आवश्यक पर्ने सामग्रीहरुसमेत भाडामा उपलब्ध गराइने संगीतकार चौधरीले जानकारी दिए । स्टुडियो उद्घाटनसँगै अन्जु पन्त फाउन्डेशनलाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।

उक्त रकम लेखक निर्देशक लय संग्रौला, ओम प्रतीक, उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रिन र संगीतकार विकास चौधरीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । गीतसंगीतमा लगानी गरिरहँदा एउटा गायिकाले समाजसेवामा फैलाएको हातमा सबैले सहयोग गर्नुपर्ने महसुस भएको कारण मिरा साउन्डको तर्फबाट उक्त रकम सहयोग गरेको संगीतकार चौधरीले बताए । अन्जु पन्त फाउन्डेशनका लागि अमेरिकामा रहनुहुने स्टुडियोका संचालक लोक पौडेल र प्रोप्राइटर मीरा पाठकले उक्त सहयोगको रकम पठाएका थिए ।

कार्यक्रममा निर्देशक, लेखक तथा गीतकार लय संग्रौलाले मेहनती संगीतकारको रुपमा विकास चौधरीलाई पाएको बताउँदै उनको व्यवस्थापनमा स्टुडियो सञ्चालनमा आउनु राम्रो काम भएको बताए । उनले सञ्चालकलाई बधाई दिँदै आगामी दिनमा आफूहरुले गर्ने चलचित्र एवं गीतसंगीतका सम्पूर्ण कार्यमा मीरा साउन्डको महत्वपूर्ण भूमिका रहने बताउँदै सहकार्य गर्ने प्रतिबद्धतासमेत दिए ।

कार्यक्रममा लेखक निर्देशक ओम प्रतीक, निर्देशक उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रीन, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार दयाराम घिमिरेले गरेका थिए । स्टुडियोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी संगीतकार विकास चौधरीको जिम्मामा रहेको छ भने रेकर्डिङ तथा मिक्सिङमा गोविन्द सोनी रहेका छन् ।