जयको एकल प्रदर्शनीको समापन

काठमाडौं । कलाकार जय शंकरसन श्रेष्ठको तेस्रो एकल प्रदर्शनी ठमेलस्थित दलाइ–ला आर्ट स्पेसमा सम्पन्न भएको छ । एक महिनादे िखजारी प्रदर्शनी शनिबार सकिएको कलाकार श्रेष्ठले जनाकारी दिए । प्रदर्शनीमा मानव जीवनका सुखान्त र दुखान्तका घटनालाई कलात्मकरुपमा चित्रण गरिएको छ ।

‘अन्त्यहीन यात्रा’ शीर्षकमा गरिएको प्रदर्शनीमा कलाकार श्रेष्ठले जीवन र जगतका साश्वत सत्य र विभिन्न परिघटनालाई क्यानभासमा चित्रण गरेका छन् । श्रेष्ठले कुमालेको चक्रजस्तै घुमिरहने जीवनमा कहिले सुख त कहिले दुःखका परिघटनाहरु चलिरहन्छन्, तिनलाई सिर्जनात्मक दृष्टिबाट क्यानभासमा उतार्ने काम गरेको सुनाए । उनले आफ्ना सिर्जनाका विषयमा भने, ‘मैले साँखु वरिपरीकै विषयलाई कलाको थिमका रुपमा लिएको छु । जसमा संस्कृति, प्रकृति, सुख दुःख, जीवनयात्रा, लगायतका विषयलाई प्रस्तुत गरेको छु ।’

उनले प्रकृति, संस्कृति, जीवन र जगत, आरोह अवरोह तथा यावत मानवीय गतिविधि सबै अन्त्यहीन रहेको जिकिर गर्दै कलामा तिनै विषयलाई प्रस्तुत गरेको सुनाए ।
०७२ सालमा आएको विनाशकारी भूकम्प र त्यसको कहरले निम्त्याएको दुखान्त विषयलाई समेत कलाकार श्रेष्ठले मार्मिकरुपमा उठाएका छन् । भत्किएका घर, सम्पदा तथा सांस्कृतिक धरोहरलाई चित्रमा प्रस्तुत गर्दै भूकम्पका कारण सामाजिक जीवनमा परेको प्रभावलाई केलाएका छन् ।

उनले प्रतीकात्मक रुपमा चित्रमा पुतली, सारस तथा हम्वर्ग चरा लगायतका विषयलाई समेत राखेका छन् । जीवन सुन्दर परिकल्पनाको सँगालो रहे पनि त्यसमा जीवन र जगतका विषय भने कहिले दुखान्त त कहिले सुखान्त रुपमा आउने श्रेष्ठले जिकिर गरे ।  उनले सांस्कृतिक तथा प्राकृतिक विषयलाई समेत क्यानभासमा उधिन्दै सगरमाथा, विभिन्न मन्दिर, संस्कृतिका विविध पाटालाई समेत चित्रमा प्रस्तुत गरेका छन् ।