दीपेन्द्रको २ नम्बरीमा भुटानी उगेन

काठमाडौं । भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनले नेपाली अभिनेता दयाहाङ राईसँग फिल्म ‘२ नम्बरी’मा रोमान्स गर्ने भएकी छन् । पत्रकार तथा समिक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण फिल्मका लागि उनी यतिबेला काठमाडौंमा छिन् । बिहीबार पत्रकारमाझ उनले नेपाली फिल्म खेल्न पाउदा उत्साहित भएको बताइन् ।

फागुन २८ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा उगेन भुटानी नागरिककै भूमिकामा रहने बताए । उनले भुटानमा विदेशी फिल्म प्रतिबन्धित भए पनि यूट्युबमार्फत् नेपाली फिल्म हेर्ने गरेको बताइन् । ‘हामी भुटानी कलाकारलाई अर्को देशको फिल्ममा काम गर्न पाउनु उपलब्धि जस्तै हो ,’ उनले भनिन् ।

किरण नेपालीको प्रस्तुति रहने ‘२ नम्बरी’मा सुशन प्रजापतिको छायांकन हुनेछ । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहने फिल्मका निर्मातामा रोहित कट्टेल र सरोज नेपाली छन् । रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने फिल्ममा अमलादेवी राईको सहनिर्माण हुनेछ । फिल्म आगामी वर्षको जनैपूर्णिमामा रिलिज हुनेछ ।