कोरोनाका कारण फिल्ममा ३७ सय करोड नोक्सान

बेइजिङ (एजेन्सी) । चीनबाट फैलिएको कोरोना भाइरसको असर दिनानुदिन विश्वमा बढ्दै गएको छ । यसको असर फिल्म उद्योगमा पनि देखिएको छ । एक तथ्यांकका अनुसार यो भाइरसका कारण विश्वभरका फिल्म उद्योगलाई सन् २०२० को मध्यसम्ममा करिब ३७ सय करोड रुपैंयाँको नोक्सान हुने देखिएको छ ।कोरोनाका कारण ठूला स्टार अभिनित फिल्मको रिलिज मिति पनि पछाडि धकेलिएको छ । यसकै चपेटामा जेम्स बोन्डको नयाँ फिल्म ‘नो टाइम टु डाई’ परेको छ । यो फिल्मको रिलिज मिति ७ महिना पछाडि धकेलिएको छ ।

चीन, साउथ कोरिया, अमेरिका, जापान र इटलीमा सार्वजनिक स्थानमा मानिसलाई भेला नहुन स्थानीय सरकारले उर्दी जारी गरेपछि फिल्म उद्योगमा झट्का लाग्न शुरु भएको हो । फिल्म विश्लेषकले जति मात्रामा कोरोना भाइरस फैलियो, त्यसको नोक्सान उतिनै बढ्ने बताएका छन् । फिल्मका लागि चीन विश्वकै ठूलो बजार हो ।

चीनमा नै अहिले कोरोनाले भयावह अवस्था सिर्जना गरेको छ । दक्षिण कोरियामा पनि अवस्था उस्तै छ । साउथ कोरिया फिल्म एशोसिएसनले साउथ कोरिया फिल्म उद्योगका लागि सबैभन्दा खराब समय घोषणा गरिसकेको छ ।

दक्षिण कोरियामा सन् २०१५ मा पनि यस्तै एक भाइरसका कारण फिल्म उद्योगमा झट्का लागेको थियो । त्यो समयको अवस्था अहिलेको जस्तो भयावह थिएन । त्यो समयमा थिएटर खुल्ला नै थिए । बजार बन्द थिएनन् । तर अहिले त्यहाँ पुरै सन्नाटा छाएको छ ।