नयाँदिल्ली जान डराए फिल्मकर्मी

मुम्बई(एजेन्सी) । चीनबाट फैलिएको कोरोना भाइरसको डर सर्वसाधारणसँगै बलिउडका सेलिब्रेटीमा पनि पुगेको छ । हालै मात्र कैयौं सेलिब्रेटी मास्क लगाएको अवस्थामा भेटिए भने कतिले कोरोनाबाट बच्ने तरिका बारे आफ्ना फ्यानलाई सन्देश दिए । यही कारण कैयों फिल्मकर्मीले सुटिङ नै रोके ।  बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को थाइल्याण्ड सुटिङ रद्द नै भयो । अन्य कैयौं फिल्मकर्मीले पनि भाइरसको डरले सुटिङको काम रोकेका छन् । जसकारण बलिउडलाई करोडौंको घाटा लाग्ने अवस्था आइसकेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसको प्रकोपका कारण फिल्कर्मी तथा कलाकार नयाँदिल्ली जान नाइनास्ती गरिरहेका छन् । समाचारअनुसार राजकुमार राव, कृति सैनन, डिम्पल कपाडिया र परेश रावल अभिनीत एक फिल्मको सुटिङ मार्च १५ मा नयाँदिल्लीमा हुने तयारी थियो । तर नयाँदिल्लीमा कोरोना भाइरसको प्रकोप देखिएपछि प्रोडक्सन हाउसले सुटिङ रोक्ने सोचाइ बनाइसकेको छ ।

‘नयाँदिल्लीमा कोरोनाको ज्वरो बढेको छ । दिनेश विजनको कम्पनीसँग जोडिएका जिम्मेवार व्यक्तिहरु फिल्मको सुटिङ रद्द गर्ने योजना बनाइरहेका छन् । उनीहरुका लागि कास्ट एण्ड क्रुको स्वास्थ्य प्रमुख कुरा हो’, एक सुत्रले भनेका छन् ।

यो फिल्मको टेन्टिटिभ टाइटल हालका लागि ‘शर्ते लागु’ र ‘सेकेण्ड इनिङ’ राखिएको छ । यो फिल्ममा राजकुमार रावले आफ्नो प्रेमका लागि परिवारलाई अपनाउने भूमिका निर्वाह गरेका छन् ।