जेल जानबाट जोगिए सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान काला हिरण शिकार र अवैध हतियारको मामलामा अदालती मुद्धामा रुमल्लि रहेका छन् । यो मुद्धामा शनिबार जिल्ला र सेशन न्यायालय जोधपुरको अदालतमा हुने सुनुवाई केही समयका लागि पछाडि सरेको छ । शनिबार सुनुवाई हुने मिति तोकिए पनि जिल्ला र सेशन न्यायालय जोधपुर जिल्लाका अदालतमा न्यायधीश प्रमोसनका कारण न्यायधीशको कुर्सी खाली रहेपछि शनिबारको पूर्वनिर्धारित सुनुवाई सरेको हो ।

पूर्वनिर्धारित सुनुवाई सरेपछि सलमानका अधिवक्ताले अदालत समक्ष हाजिरी माफी पेश गरेका छन् । हाजिरी माफीमा सलमान सुटिङमा व्यस्त हुने जानकारी दिइएको छ । अदालतले हाजिरी माफी स्वीकार्दै यो मामलाको सुनुवाई आगामी अप्रिल १८ लाई तोकेको छ । समाचार अनुसार काला हिरण र अवैध हतियार मामलामा जोधपुरको जिल्ला र सेशन न्यायालय जोधपुर जिल्लाको अदालतमा तीन अपिलमाथि सुनुवाई हुने तयारी थियो ।

कांकाणी काला हिरण शिकार मामलामा दोषी ठहर्दै सलमानलाई सन् २०१८ अप्रिल २५ मा ५ वर्षको जेल सजाय सुनाइएको थियो । सीजेएम ग्रामीण कोर्टबाट दिइएको सजायको फैसला विरुद्ध सलमानले अपिल पेश गरेका थिए । यसका अलावा अवैध हतियार मामलामा सलमानलाई सीजेएम ग्रामीण कोर्टबाट रिहाईको आदेश दिएसँगै सरकारले त्यसका विरुद्ध अदालतमा अपील दिएको थियो । शनिबार त्यही विषयमा सुनुवाई हुने पूर्व तयारी थियो । कांकाणी काला हिरण शिकार मामलामा अन्य फिल्मकर्मी रिहाईका विषयमा विश्नोई समाजले गरेको अपीलको पनि शनिवार सुनुवाई हुने कार्यक्रम थियो ।

१९ वर्ष अघि १९९८ सेप्टेम्बरमा सलमान जोधपुरमा फिल्म ‘हम साथ साथ है’को सुटिङ गरिरहेका थिए । यही समयमा सलमान फिल्मका सहयोगी कलाकार सैफ अली खान, सोनाली बेन्द्रे, तब्बू र नीलममाथि कालो हिरण शिकार र त्यसमा सहयोग गरेको आरोप लागेको थियो । सीजेएम ग्रामीण कोर्ट जोधपुरले कांकणी हिरण शिकार मामलामा सलमानलाई दोषी ठहराइसकेको छ भने अन्य कलाकारलाई दोषमुक्तको आदेश दिएको छ । सलमानले लाइसेन्सको अवधि सकिएपछि पनि ३२ र २२ बोरको बन्दुक राखेको आरोपमा आम्र्स एक्टको धारा अनुसार उनीमाथि मुद्धा लागेको थियो ।