प्रदीप र मेलिनालाई वर्षव्यक्ति, सुमनलाई पुरस्कार

काठमाडौं । विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा फिल्मीखबर चलचित्र वर्ष व्यक्ति एवं फिल्मीखबर सबिन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा गरेको छ । फिल्मीखबर चलचित्र वर्ष व्यक्तिका रुपमा यस पटक पुरुषतर्फ निर्देशक प्रदीप भट्टराई र महिलातर्फ गायिका मेलिना राई चयन भएका छन् ।

  थुप्रै टेलिफिल्ममा कार्यगत अनुभव बटुली फिल्ममा प्रवेश गरेका प्रदीपलाई क्रमश जात्रा, शत्रुगते एवं जात्रै जात्राको ह्याट्रिक सफलता सँगै यस वर्ष सफल फिल्म जात्रै जात्राका आधारमा चयन गरिएको फिल्मीखबरले बताएको छ । त्यस्तै पाश्र्व गायन यात्राको पहिलो गीत कम्मरमाथी पटुकी (नाइ नभन्नु ल – २) देखि निरन्तर रुपमा पाश्र्व गायनमा सफल मेलिनालाई यस वर्षको महिला तर्फको वर्ष व्यक्तिमा चयन गरेको फिल्मीखबरले बताएको छ ।

यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले रंग पत्रकार सबिन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सबिन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंग पत्रकार सुमन वैरागीलाई प्रदान गरिने घोषणा फिल्मीखबरले गरेको छ । विगत डेड दशकभन्दा लामो अवधिदेखि रंग पत्रकारितामा सक्रिय रुपले संलग्न रही हाल उनी म्यूजिक खबर डटकम र म्यूजिक खबर पाक्षिकमा प्रधान सम्पादक रहेका छन् ।

वार्षिकोत्सवकै दिन कार्यक्रम गरि सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यस पटक कोरोना प्रकोपका कारण केहि दिन पछि कार्यक्रम गरि सम्मान र पुरस्कार प्रदान गरिने फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले बताएका छन् । प्रियका अनुसार वर्ष व्यक्तिका लागि ट्रफी, प्रमाणपत्र सहित पुरस्कारहरु एवं रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र एवं नगद राशी ११ हजार ११ सहित सम्मान पुरस्कार प्रदान गरिने छ ।