वरुण भन्छन्, ‘नेपाल गाउँ होइन्, देश हो’

मुम्बई(एजेन्सी) । बलिउड फिल्म अभिनेता वरुण धवनको सामाजिक सन्जालमा उल्लेख्य प्रशंसक छन् । बरुणले हालै मात्र होलीको अवसर पारेर एक फ्यानका साथ एक भिडियो सुट गरे र शुभकामना सन्देशका साथ इन्स्टाग्राममा पोस्ट गरे ।

हाल वरुणको एक फ्यान क्लबले शेयर गरेको भिडियो भाइरल भइरहेको छ । ‘म पाण्डेको साथी, परिवार र सबैलाई होलीको शुभकामना दिन चाहन्छु’, भिडियोमा प्रशंसकका साथ वरुणले भनेका छन् । त्यसैबखत ती फ्यानले आफ्नो ‘गाउँ’ नेपालका मान्छेहरुलाई पनि शुभकामना दिन आग्रह गरेका छन् ।

ती फ्यानले नेपाललाई ‘गाउँ’ भनिरहँदा वरुणले नेपाल ‘गाउँ’ नभई ‘देश’ भएको बताएका छन् । वरुणले स्नेहपूर्वक ती प्रशंसकलाई सम्झाउँदै नेपाली समुदायलाई पनि होलीको शुभकामना दिएका छन् ।

वरुण पिता डेभिड धवनको फिल्म ‘कुली नम्बर १’को रिमेक भर्सनमा सारा अली खानसँग देखिँदैछन् । अघिल्लो संस्करणमा गोविन्दा र करिश्मा कपुर प्रमुख भूमिकामा थिए । यसपटक गोविन्दाको भूमिकामा वरुण देखिँदैछन् । सारा करिश्मा कपूरको भूमिकामा छिन् । फिल्ममा परेश रावल र जावेद जाफÞरी पनि प्रमुख भूमिकामा छन् ।