घरमै बन्धक छन् बलिउडकर्मी

मुम्बई(एजेन्सी) । चीनबाट फैलिएको कोरोना भाइरसको डर बलिउडका सेलिब्रेटीमा यति बढेको छ कि उनीहरु अहिले हरेक गतिविधि घरमा नै गर्न थालेका छन् । उनीहरु सुटिङ, इभेन्ट र फिल्म रिलिजको काम रोकिएपछि घरमै बन्धक जस्तै भएर बस्न थालेका छन् । कोरोनाको डरबाट बच्नका लागि उनीहरु घरमा नै आराम गरिरहेका छन् ।

अभिनेत्री कटरिना कैफ अहिले घरमै वर्क आउट गरिरहेकी छन् । आफ्नो फिटनेसलाई लिएर सचेत कटरिना घरमा नै फिटनेसको काम गरिरहेकी छन् । केही समय अघि मात्र कटरिनाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा फिटेनसको भिडियो शेयर गरेकी थिइन् । भिडियोमा कटरीनालाई घरमा नै पुस अप र कैयौं किसिमका व्यायाम गरिरहेको देख्न सकिन्छ । भिडियोमा उनको प्रशिक्षक पनि देखिएकी छन् ।

त्यस्तै अभिनेत्री दीपिका पादुकोणले पनि आफ्नो घरको सफाईको काम शुरु गरिसकेकी छन् । सरसफाईलाई मनपराउने दीपिका खाली समय हुनासाथ घरको सफाईमा लाग्छिन् । त्यसकारण पनि कोरोनाका कारण घरमै बस्नुपरेपछि यो समयलाई सरसफाईमा सदुपयोग गरिरहेकी छन् । दीपिकाले सामाजिक सन्जालमा आफू घर सरसफाईमा सक्रिय रहेको जानकारी दिएकी थिइन् । जुन कामको उनका फ्यानले खुलेर तारिफ गरेका थिए ।

कोरोनाको असरका कारण बलिउड, हलिउड र अन्य फिल्म उद्योगमा ठूलो असर परेको छ । धेरै फिल्मको सुटिङ, रिलिज र कार्यक्रम रोकिएका छन् । बलिउड अभिनेत्री करिना कपुरले केही दिन अघि केही तस्बिर इन्स्टाग्राम एकाउण्टमा राखेकी थिइन् । तस्बिरमा उनका अभिनेता पति सैफ अली खान किताब पढिरहेको देख्न सकिन्छ । जहाँ करिना आइफोन चलाइरहेकी छन् । उनीहरुको यो तस्बिर सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ ।

दैनिक रुपमा जिम र योगा कक्षा जाने अभिनेत्री मलाइका अरोडा यतिबेला घरमा नै बसिरहेकी छन् । अमेरिकामा स्वास्थ्य संकटकाल घोषणा भएपछि अभिनेत्री प्रियंका चोपडा पनि घरमा नै समय बिताइरहेकी छन् । सबै सुटिङ रोकिएपछि अभिनेत्री श्रद्धा कपुर घरमा नै किताब पढिरहेकी छन् । अर्की अभिनेत्री सनी लियोनी पनि कोरोनासँग लड्न तयारी अवस्थामा छिन् । जसका लागि उनले पतिसहित तीन सन्तानले मास्क लगाएको तस्बिर सामाजिक सन्जालमा राखेकी छन् ।