वरुणको विवाहलाई कोरोना बाधक

मुम्बई(एजेन्सी) । विश्वव्यापी फैलिएको कोरोना भाइरसको असर फिल्मकर्मीको सुटिङ र फिल्मको रिलिजमा मात्र परेको छैन । यसको असर सेलिब्रेटीको व्यक्तिगत जीवनमा पनि परेको छ । बलिउड अभिनेता वरुण धवन उनकी प्रेमिका नताशा दलालसँग चाँडै नै वैवाहिक जीवनमा बाँधिने तयारीमा रहेको केही समयदेखि चर्चा हुँदै आएको थियो । उनीहरुको विवाहको मिति पनि करिब करिब तोकिइसकेको अवस्था थियो । तर अब कोरोना भाइरसको कारण उनीहरुको विवाहमा ग्रहण लाग्ने निश्चित प्रायः भएको छ । उनीहरुको विवाहको तारिख पुनः एकपटक पर्ने भएको छ ।

समाचार अनुसार वरुण र नताशाको विवाह थाइल्याण्डमा गर्ने परिवारको योजना थियो । तर परिवारले पुनः यो लोकेसनलाई भारतको जोधपुरमै ल्यायो । केही समय पछि दुवैको परिवारले मुम्बईमा नै एक सामान्य किसिमले दुवैको विवाह गर्ने योजना बनाएका थिए । तर परिवारले विवाहको समयलाई केही महिना पछाडि सारेका छन् । बताइए अनुसार उनीहरुको विवाह २०२० को जुलाईपछि हुनेछ ।

कोरोना भाइरसकै डरले अली फजल र ऋचा चड्डाको विवाहको मिति पनि फेरिने सम्भावना छ । हालै मात्र ऋचा र अलीले विवाहको निर्णय लिएका थिए । ऋचा र अलीको विवाहमा सहभागिता जनाउनका लागि धेरै पाहुना अमेरिका र यूरोपबाट आउने तयारीमा थिए । तर ती मुलुकमा कोरोनाको प्रभाव बढेसँगै विवाह पनि सर्ने सम्भावना रहेको छ ।