सेल्फ क्वारेन्टाइनमा अमिताभदेखि सोनमसम्म

मुम्बई(एजेन्सी) । भारतमा कोरोना भाइरस फैलने क्रम बढ्दो छ । यस्तो अवस्थामा आफूलाई सेलिब्रेटी हरसम्भव बचाउने प्रयासमा छन् । यसैक्रममा बलिउडका स्टारहरु कोरोनाबाट बच्नका लागि आफैंलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । जसकारण उनीहरु दोस्रो व्यक्तिको सम्पर्कबाट सुरक्षित हुने आशामा छन् । यो सूचीमा अमिताभ बच्चनदेखि लिएर कैयौं स्टार सामेल छन् ।

अमिताभ बच्चनले ट्वीटरमार्फत आफू क्वारेन्टाइनमा रहेको उल्लेख गरेका छन् । उनले सामाजिक सन्जालमा बीएमसीका तर्फबाट हातमा लगाएको स्टाम्प पोस्ट गरेका छन् । बीएमसीले क्वारेन्टाइन गर्ने व्यक्तिको हातमा स्टाम्प लगाउने गरेको छ । अमिताभ केही दिनदेखि सेल्फ आइसोलेसनमा छन् । फिल्म ‘ब्रह्मास्त्र’को छायांकन भइरहँदा कोरोना प्रकोपका कारण छायांकन रोकिएको छ ।

अभिनेत्री आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्नका लागि हाल घरमै छिन् । आलियाले एक तस्बिर सामाजिक सन्जालमा शेयर गरेकी छन् । उनले आफू सेल्फ क्वारेन्टाइनमा रहेको र फिटनेसमा पुरा ध्यान दिएको उल्लेख गरेकी छन् । अभिनेता अर्जुन कपुर पनि लामो समयदेखि कोरोना भाइरसबाट बच्न उपाय अपनाइरहेका छन् । हालै मात्र उनी एयरपोर्टमा मास्क लगाएको अवस्थामा भेटिएका थिए । अर्जुन अभिनित फिल्म ‘संदीप पिंकी फरार’को रिलिज मिति पनि रोकिएको छ ।

अर्का अभिनेता दिलीप कुमार लामो समयदेखि अस्वस्थ छन् र उनी केही दिनदेखि सेल्फ आइसोलेसनमा छन् । अभिनेत्री सोनम कपुर पनि केही समयदेखि लण्डनमा थिइन् । तर कोरोनाको प्रकोप युरोपमा फैलिए पछि उनी डरले भारत फर्किएकी छन् । अब उनी केही दिन सेल्फ आइसोलेशनमा नै हुनेछिन् ।