यसकारण कारण सर्यो के घर के डेरा

काठमाडौं । चैत्र दोश्रो साताबाट छायांकनमा जान तयार रहेको नेपाली फिल्म ‘के घर के डेरा’ले छायांकन कोरोना भाइरसका कारण रोकिएको छ । फिल्मका निर्देशक सुब्रतराज आचार्यले राज्यले पनि फिल्मका गतिविधी रोक्न आह्वान गरेको समयमा सतर्कता अपनाउदै अवस्था सामान्य नभएसम्मका लागि छायांकन रोकिएको बताए ।

फिल्मका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा)ले स्वास्थ्य पहिलो रोजाई रहेकोले छायांकन स्थगित गरिएको बताए । फिल्म यूनिटले महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा अपिलसमेत गरेको छ ।

३५ वर्षअघिको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’को नाम सापटी लिएर यो फिल्म बनाउन लागिएको हो । फिल्ममा अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहनेछ । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ ।

फिल्ममा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यमप्रसाद ओली सह(निर्मातामा रहेका छन् । ‘हरि’ चलचित्रका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको चलचित्रको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने फिल्ममा दिर्घ वीर गुरुङको छायांकन, मित्र डि. गुरुङको सम्पादन, शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । फिल्मलाई रोहित–रत्न (आरआर) ले वितरण गर्दैछन् ।