ज्ञानको शितल चौतारीमा रक्षा

काठमाडौं । भुटानी गायक ज्ञान घिसिङको गीत ‘शितल चौतारी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द गायक घिसिङको रहेको छ भने संगीत ओम सुनारको छ । गीतमा ज्ञानलाई स्वरमा दीपा लामाले साथ दिएकी छन् । गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् ।

भिडियोमा स्वयम् गायक घिसिङ र रक्षा श्रेष्ठ फिचर्ड छन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा पवन सुवेदीको सम्पादन छ । शिव विकको निर्देशन रहेको भिडियोमा सागर लामा ‘गोले’ र माधव श्रेष्ठको कोरियोग्राफी छ ।

अमेरिकामा रहेका गायक घिसिङले हालै मात्र राजधानीमा एक कार्यक्रम गरेर आफ्नो पहिलो डेब्यु एल्वम ‘सम्भव’ सार्वजनिक गरेका थिए । यस एल्बमभित्र ६ वटा गीत छन् । ६ वटा गीत मध्ये ४ वटा गीतमा स्वयम् गायक घिसिङको स्वर र संगीत छ । ४ वटा युगल गीत रहेको एल्वममा गायक घिसिङलाई निर्मला घिसिङ, मेलिना राई र दिपा लामाले स्वरमा साथ दिएका छन ।

गायक घिसिङले ७ वर्षको उमेरमा नै भुटानमा ब्राशब्याण्डमा काम गरेका थिए । भुटानमा चलेको राजनीतिक आन्दोलनका कारण ४ वर्ष उनले आफ्नो पढाईसमेत छाडेपछि उनी नेपालमा सन् १९९२ मा आफ्नो परिवारसहित शरणार्थी शिविरमा बसेका थिए । झापाको शरणार्थी शिविरमा हुर्किएका घिसिङले दमक मोडल कलेजबाट आफ्नो स्नातक पुरा गरेका हुन् । गायक घिसिङ हाल अमेरिकामा शिक्षक, इण्टरटेनर, व्यवसायीको रुपमा काम गर्दै आएका छन् ।