लकडाउनमा सोनाक्षीको हातमा बन्दुक !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले कोरोना भाइरसको प्रकोपको समयमा आफ्नो शैलीबाट आम मानिसमा जागरुक गराएकी छन् । भारतमा लकडाउनका कारण घरमा नै बसिरहेकी उनले ट्वीटरमा कालो पहिरन लगाएर हातमा बन्दुक बोकेको तस्बिर राख्दै घरबाहिर ननिस्कन सचेत गराएकी छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा पछि उनको एक सन्देश सेयर गरेकी छन् । उनले गम्भीर कुरालाई सरल किसिमले सम्झाउने प्रयास गरेकी छन् । मंगलबार मोदीले देशबासीका नाममा सम्बोधन गर्दै २१ दिनका लागि भारत लकडाउन गरिएको घोषणा गरेका थिए ।

उनको घोषणा पछि सोनाक्षीले सामाजिक सन्जालमा बन्दुक बोकेको तस्बिर राख्दै बाहिर ननिस्कन चेतावनी दिएकी हुन् । ‘नेसनल लकडाउन, गल्तीपूर्वक बाहिर ननिस्कनु, यो सन्देश ती व्यक्तिलाई हो जसलाई म झ्यालबाट देख्न सक्छु । स्टे होम स्टे सेफ, चुपचापा घरमै बस्नु’ उनले बन्दुक बोकेको तस्बिर राख्दै लेखेकी छन् ।

हालै मात्र सोनाक्षीले एक अन्तरवार्तामा कोरोना भाइरसका बारेमा आफ्नो भनाई राख्दै अहिलेको विकराल अवस्था सामान्यमा परिणत होस् भन्ने कामना सहित आफूले प्रार्थना गरिरहेको बताएकी थिइन् । ‘अहिले सबै सुटिङ रोकिएका छन् । मेरो मन वास्तवमै हाम्रा कर्मचारी, दैनिक काम गर्ने अभिनेता र सबै प्राविधिकका लागि दु्खी भइरहेको छ । म हरेक विषय सामान्य रहोस् भन्ने प्रार्थना गरिरहेकी छु । जसकारण नोक्सान कम होस्’, उनले भनेकी छन् ।