टेलिभिजनमा फर्कदै रामायण–महाभारत

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको संक्रमण रोक्नका लागि भारतभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा मानिसहरु घरघरमा रहेर आफ्नै किसिमले समय काटिरहेका छन् । कोरोनाकै कारण मनोरन्जन क्षेत्रका हरेक गतिविधि ठप्प छन् । यस्तो अवस्थामा टेलिभिजन च्यानलले प्रसारण भइरहेका टेलिभिजन कार्यक्रम दोहो¥याएर दर्शकलाई देखाइरहेका छन् । भारतीय टेलिभिजन दुरदर्शनले एक समयको लोकप्रिय टेलिभिजन शो रामायण र महाभारतको पुनः प्रसारण गर्ने निर्णय लिएको छ ।

रामायण र महाभारत दुरदर्शनको सबैभन्दा लोकप्रिय टेलिभिजन शो हो । यो त्यस्तो शो हो, जसले टेलिभिजनको इतिहासमा एउटा इतिहास रच्यो र कलाकारलाई लिजेण्ड बनाइदियो । प्रसार भारतीका शशि शेखरले ट्वीटरमा एक प्रयोगकर्ताको जवाफ फर्काउँदै कुन समयमा यी दुई धार्मिक सिरियल प्रसारण हुने भन्ने बारे चाँडै सार्वजनिक गरिने बताए । केही समय अघि मात्र रामायणका ती प्रमुख पात्र कपिल शर्मा शोमा उपस्थित भएका थिए ।

रामानन्द सागर कृत रामायण सन् १९८७ मा छायांकन गरिएको थियो । त्यस्तै बीआर चोपडा कृत महाभारतको छायांकन सन् १९८८ मा भएको थियो । भारतीय मिथोलोजीको विज्ञानको सहायताले पहिलोपटक यो कथा छोटा पर्दामा आएको थियो ।