कोरोना पीडितको उपचारमा नायिका नर्स

मुम्बई(एजेन्सी) । बलिउडकी एक नायिका यो समयमा कोरोना(कोभिड–१९) बाट पीडित बिरामीको उपचारमा व्यस्त छिन् । बलिउड फिल्म ‘काँचली’मा अभिनेता सन्जय मिश्रासँग देखिएकी शिखा मल्होत्रा आफ्नो ज्यानको पर्वाह नगरीकन यतिखेर कोभिड पीडित बिरामीको उपचारमा तल्लिन छिन् ।

हालै मात्र फोटोग्राफर वीरल भयानीले इन्स्टाग्राममा उनको तस्बिर पोस्ट गरेपछि मात्र शिखाको कामको बारेमा सबैले थाहा पाएका हुन् । शिखाले अभिनय गरेको फिल्म ‘काँचली’ कम बजेटको भए पनि यसले समीक्षात्मक टिप्पणी राम्रो पाएको थियो ।

शिखा मुम्बईको जोगेश्वरी इलाकामा रहेको बीएमसीद्वारा सन्चालित ट्रमा अस्पतालमा स्वयंसेविकाका रुपमा कार्यरत छिन् । शिखाले वर्धमान महावीर मेडिकल कलेज र दिल्लीको सफदरजंग अस्पतालबाट सन् २०१४मा नर्सिङ कोर्ष गरेकी थिइन् । अभिनयमा रुची राख्ने भएकाले पनि यसअघि शिखाले कहिल्यै नर्सका रुपमा काम गरिनन् ।

बीएमसीले शिखाको शैक्षिक योग्यता हेरेपछि उनलाई हिन्दुहृदय सम्राट ठाकरे ट्रमा अस्पतालमा कामका लागि अनुबन्ध गरेको थियो । उनलाई आइसोलेशन वार्डमा काम लगाइएको थियो । ‘कोर्ष पुरा गरेपछि हामीले समाजको सेवा गर्ने सपथ खाएका हुन्छौं । मेरो विचारमा अहिले त्यही समय हो’, शिखा भन्छिन्, ‘मेरो सेवानिवृत्त डाक्टर र मेडिकल स्टाफसँग यो आग्रह छ कि यो आपतकालिन समयमा बिरामीको सहयोगको लागि अगाडि आउनुहोस् ।’