मजदुरी गर्नेलाई वर्षाको एक लाख

काठमाडौं । दिनरात नभनी मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरुका लागि भन्दै अभिनेत्री वर्षा शिवाकोटीले प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैंयाँ सहयोगको घोषणा गरेकी छन् । सामाजिक सन्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै कोरोना भाइरसको संक्रमणका कारण मजदुरहरुले काम गर्न नपाइरहेको अवस्थामा उनीहरुलाई सहयोग गर्न आफूले एक लाख रुपैंयाँ दिने घोषणा गरेको बताएकी छन् ।

‘सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपालीलाई असर परेको छ । तर पनि विशेष गरेर दिनरात मजदुरी गरेर जीविकोपार्जन गर्नुहुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाँहरुको लागि जति सक्दो चाडो राहतको व्यवस्था गर्नुहुनेछ भन्ने आशा गरौ’,’ वर्षाले भिडियोसहित लेखेकी छन्, ‘यसको लागि मेरो व्यक्तिगततर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १,००,००० (एक लाख) जम्मा गर्न चाहन्छु र मेरो इच्क्षा, यो पैसा ति हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओस, जसले दैनिक काम गरेर जीवन गुजारा गर्नुहुन्छ !’

उनले देशलाई बचाउन दिनरात भोकभोकै खट्ने मेडिकल सेक्टरबाट डाक्टरहरु, नर्शहरु र मेडिकल सँग सम्बन्धित अन्य व्यक्ति, प्रहरी दाजुभाइ दिदीबहिनीहरु र कोरोना भाइरसबाट बचाउन लागेका व्यक्तिप्रति आभार व्यक्त गरेकी छन् ।